कास्कीमा बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार राति बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।
निषेधाज्ञामा बुधबारदेखि जोरबिजोर प्रणालीमा सवारीसाधन भने चल्न दिने उल्लेख गरिएको छ। निषेधाज्ञामा सबै प्रकारका भेला, गोष्ठी, सेमिनार, सभा, सम्मेलन, भिडभाड, जुलुस, जात्रा, विश्वविद्यालय, विद्यालयका पठन पाठन, तालिम लगायतका गतिविधि गर्न निषेध गर्ने उल्लेख छ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, फनपार्क, रंगशाला, जिमखाना, ब्युटी पार्लर, शेलुन लगायत पसलहरू खोल्न नदिने उल्लेख छ। यस्तै, होटल तथा रेष्टुरेण्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ‘टेक अवे’ गरी सञ्चालन गर्न दिने निर्णय गरिएको छ।
निषेधाज्ञामा तरकारी तथा फलफूल, औषधी पसल, पेट्रोल पम्पलगायत अत्यावश्यक सेवा भने सुचारु गर्न दिने निर्णय गरेको छ।
उक्त आदेश वैशाख २१ गते राति १२ बजेसम्म कास्की जिल्लाभर लागू हुने बताईएको छ ।