केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाण्डौंसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिए ।
विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताए आज भैरहवाको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहने अनुमान छ ।
भैरहवामा हिजो ४२ डिग्री सेल्सियस र अस्ति ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । यस्तै नेपालगञ्जमा आज ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान छ ।
नेपालगञ्जमा हिजो ४० दशमलव ८ डिग्री सेल्सियससम्म र अस्ति ४० दशमलव ६ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकोले अबको केही दिन गर्मी अझै बढ्ने मौसमविद्को भनाइ छ ।
यस्तै आज दिउँसोपछि पहाडका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी चल्ने मौसमविद्ले बताएका छन् । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बदली छ भने बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।