logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

आन्तरिक उडान तत्काल बन्द गर्ने सरकारको तयारी


अंकुरण खबर
1.898K
Shares

सरकारले आन्तरिक उडान तत्काल बन्द गर्ने तयारी गरेको छ ।

विमानस्थलमा यात्रु व्यवस्थापनबारे बिहीबार ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेपछि आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको हो । सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन ।

यसअघि बुधबार सीसीएमसी सचिवालयले त्रिभुवन विमानस्थलमा अनुगमन गरेको थियो । टोलीले विमानस्थलमा भीडभाड देखेपछि आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा सीसीएमसी पुगेको हो ।

हवाई उडान बन्द नहुँदा विमानस्थलमा उस्तै भीड लागेको छ । निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरु बढेपछि अझ भीड बढेको हो । बुधबार १५ हजार २ सय ६३ जना आन्तरिक हवाई यात्रुले जहाज चढेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विहीवारको अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए। विमानस्थलबाटै कोभिड सर्ने अवस्था भयो भने उडान बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए।

वायुसेवा कम्पनीहरुले भने सामाजिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान भइरहेकाले उडान रोक्नुपर्ने अवस्था नरहेको बताएका छन् ।