वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ।
अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज-१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ मा मृत्यु भएको हो । ती महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गराइएको र उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।
वीरगञ्ज-३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरी सोही पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो।
यस्तै बाराको जितपुर सिमरा-२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए।
उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाटसमेत ग्रसित रहेका जितपुर सिमरा निवासी पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख १० गते अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको डा. दासले जानकारी दिए।
योसँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ।