logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु


अंकुरण खबर
3.757K
Shares

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको हो।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन्। तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन्।

गत आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो। हात्ती र गैँडाले तीन–तीनजनालाई आक्रमण गरी मारेको थियो।

गत वर्ष वन्यजन्तुबाट ३४ जना घाइते भएको उन्ले जानकारी दिए। त्यसमध्ये गैँडा र बँदेलले १३–१३, मगर गोही र हात्तीले तीन–तीन तथा भालु र अजिङ्गरले एक–एकजनालाई घाइते बनाएको थियो।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भई मृत्यु भएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ।

वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले १० लाख रूपैयाँ पाउने व्यवस्था छ। अधिकारीका अनुसार घाइतेका हकमा दुई लाख रूपैयाँसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था छ।

अंगभंग भएर लामो समय उपचार गर्नुपर्ने अवस्थामा सरकारी अस्पतालमा गरेको उपचारको सबै खर्च सरकारले व्यहोर्ने ऐनमा व्यवस्था छ। आकस्मिक अवस्थामा भने जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था छ।

विगतका वर्षमा राहत ढिलो प्राप्त हुने समस्या रहेकामा हाल भने निकुञ्जको कार्यालयले राहत दिने भएकाले प्रक्रिया पूरा गरी तत्काल भुक्तान गरिँदै आएको छ।

यस कार्यालयले निकुञ्जसहित डिभिजन वन कार्यालय चितवन, धादिङ, नवलपरासी सुस्ता पूर्व र पश्चिम गरी चार जिल्लाका घाइतेको राहतसमेत उपलब्ध गराउँदै आएको छ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार जिल्ला पर्दछन्। ती जिल्लाका १२ पालिकाका ९७ वडा मध्यवर्ती क्षेत्रमा पर्दछन्।

निकुञ्जसँग जोडिएकाले वन्यजन्तु बाहिर निस्कने र स्थानीयवासीलाई दुःख दिने गर्दछन्। मानिसलाई आक्रमणका अतिरिक्त घरपालुवा पशुपन्छी, घर गोठ, बालीनालीसमेत क्षति पुर्‍याउने गर्दछन्। रासस