लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन्।
उनी माओवादीमा प्रवेश गरेसँगै प्रदेशमा आगामी चुनावसम्म एकल बहुमतको सरकारको नेतृत्व गर्ने सुरमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् ।
दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाबाट उपचुनाव जितेर प्रदेशसभा सांसद भएका थिए ।
एमाले र माओवादी एकीकरण भएर बनेको तत्कालीन नेकपा फेरि माओवादी र एमालेमा विभाजित भएपछि उनी कुन दलमा आबद्ध हुने तय भएको थिएन। उनको आबद्धता टुंगो नलाग्दै एमालेले उनलाई समेत समावेश गरी आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो।
दाङ प्रदेशसभा ३ (ख) की सांसद विमला वलीले आफूलाई माओवादीले नै जिताएकोले पार्टी प्रवेश गरेको बताइएको छ ।
पति उत्तमकुमार वलीको निधनपछि तत्कालीन नेकपाले उनलाई उपनिर्वाचनमा उठाएर जिताएको थियो। सवारी दुर्घटनामा ज्यान गुमाएका वली एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य थिए।