logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कास्कीमा मंगलबारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक


अंकुरण खबर
754
Shares

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार (भोलि) देखि  सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।

निषेधाज्ञा कडा बनाउँदै जिल्लामा यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गरेको आदेशमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ ।

वैशाख २१ गते बिहान ५ बजेदेखि वैशाख ३१ गते रातको १२ बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यसैगरी सबै किसिमका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड कायम गरी नियमित पूजाआजा बाहेकका अन्य कार्य नगराउन आदेशमा भनिएको छ । सबै किसिमका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन तथा परीक्षा सञ्चालन नगराउन आदेशमा उल्लेख छ ।

औषधि एवं स्वास्थ्य सामग्रीका पसल भने २४ सै घण्टा खुल्नुका साथै दैनिक उपभोग्य खाद्यान्न, फलफूल, माछामासुका लागि बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।