बागलुङमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोनाका संक्रमित बढ्दै गएपछि बागलुङ उद्योग वाणिज्य संघ र स्थानीय पालिकाको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो ।
मंगलबार बिहान बागलुङ बजारका सडकमा अत्यावश्यक सेवाका सवारीसाधन मात्र गुडेका छन् । त्यस्तै बजारहरू पूर्ण रूपमा ठप्प छन् । वैशाख ३१ गतेसम्म दस दिनका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो।
निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन्। कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ।
बागलुङमा पछिल्लो समय झन्डै २ सय सक्रिय संक्रमित पुगेका छन् ।