गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।
टाउको दुखेपछि आरडिटी टेस्ट गराउँदा पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट गरिएको छ । पीसीआर रिपोर्ट भने आउन बाँकी छ ।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् ।
यसैबीच, मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव परेपछि गत वैशाख १५ मा प्रदेशमा मत विभाजनको दिन जनमोर्चाका सांसद हराएपछि सभामुखले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
जनमोर्चाका सांसदमा कोरोना पोजेटिभ देखिएपछि उनी चरक मेमोरियल अस्पतालमा एक सातासम्म उपचारपछि डिस्चार्ज भई होटलमा बस्दै आएका छन् ।