यात्रुसँग बढी भाडा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको हो । कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई महाशाखाले पक्राउ गरेको हो। उनीहरु तीनैजना टिकट काउन्टरका कर्मचारीहरू हुन्।
उनीहरुले वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचना पाएपछि प्रहरीले उनीहरूलाई गौशाला र कोटेश्वरबाट पक्राउ गरेको हो। उनीहरूले काठमाडौंदेखि झापा र मोरङ्ग जाने यात्रुहरूसँग जनही तीन हजार देखी चार हजार पाँच सयसम्म भाडा लिएका थिए।
ट्राफिक प्रहरी महाशाखले निषेधाज्ञा जारी भएदेखि समस्यामा पर्नेहरूलाई घर पुर्याउने क्रममा ठगिन सक्ने भन्दै विशेष टोली गठन गरेको छ।