ओलीले ढोका बन्द गरे नेपाल पक्षको राजीनामा
एमाले आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।
राजीनामा दिने उद्देश्यले निर्वाचित र समानुपातिक गरी नेपाल पक्षका सबै सांसदले हस्ताक्षर गरिसकेको स्रोतको दाबी छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विवाद सुल्झाउनेभन्दा पनि जसरी हुन्छ आफूसँग असहमति राख्नेलाई अल्मल्याउने र पन्छाउने नीति लिएको नेपाल पक्षको बुझाइ छ। नेपाल पक्षका सांसदले सकेसम्म विवाद मिलाउन सबै विकल्प खुला राख्ने तर ओलीले ढोका बन्द गरे राजीनामा नै दिनुपर्ने बताएका छन्। सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा शनिबार दिउँसो बसेको नेपाल पक्षीय संसदीय दलको बैठकमा राजीनामा दिन सबै सांसद सहमत भएको स्रोतले बतायो।
बैठकमा सांसदहरूले नेता नेपाललाई एकपटक ओली पक्षका नेताहरूसँग कुराकानी गरेर विवाद सुल्झाउने प्रयास गर्न आग्रह गरेका थिए। वार्ताका लागि सांसदहरूले नेता नेपाललाई अख्तियारीसमेत दिएका छन्। ‘तपाईं पार्टी प्रमुख भइसकेको व्यक्ति भएकाले एक पटक ओली र उनी पक्षका दोस्रो तहका नेताहरूसँग पनि छलफल गर्नुहोस् भनेर हामीले नेता नेपाललाई सुझाव दिएका छौं। त्यसका लागि अख्तियारी पनि दिएका छौं।
ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउन चाहेनन् भने अर्को विकल्प छैन, राजीनामा नै हो भनेका छौ’, एक सांसदले भने। स्रोतका अनुसार विवाद मिलाउन तयार नभए नेपाल पक्षका संघीय र प्रदेश दुवै तहका सांसदले राजीनामा दिनेछन्। यसका लागि आइतबार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ।
ओली पक्षले तत्कालीन स्थायी कमिटीलाई यथावत राख्ने, पदाधिकारीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गर्ने, माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताको सम्मानमा यथावत राख्ने अन्य कमिटी चलायमान बनाउन कार्यदल बनाउने र त्यसका आधारमा संगठन निर्माण गर्न राखेको प्रस्तावमा नेता नेपालले असहमति राखेका थिए। नेपालले निर्वाचित पदाधिकारीसहितको बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन् । उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने अडान राखेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।
उपत्यकाका अस्पतालमा अक्सिजन अभाव
टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हँुदैन ।
अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए । उनले भने, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उनले बताए ।
“एक सङ्क्रमितलाई दैनिक १० देखि १५ लिटर अक्सिजन आवश्यक पर्छ, अहिले अक्सिजन अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो भएको छ,” डा। राजभण्डारीले भने । यस्तै वसुन्धरास्थित कान्तिपुर अस्पतालमा यतिखेर ५५ सङ्क्रमित उपचार गराइरहेका छन् । यो अस्पतालमा पनि अक्सिजनको अभाव छ ।
“अक्सिजन अभावका कारण अन्य बिरामी भर्ना गर्नसक्ने स्थिति छैन, अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन व्यवस्थापनमा कठिन भइसकेको छ,” अस्पतालका अध्यक्ष डा। बुद्धिमान श्रेष्ठले भने ।
अक्सिजन नपाइकन सङ्क्रमितको मृत्यु हुने उनको भनाइ छ । पुल्चोकस्थित अल्का अस्पतालमा ६० जना सङ्क्रमित उपचाररत छन् । त्यहाँ पनि अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालका अध्यक्ष कुमार थापाले अक्सिजन आपूर्ति गर्नेहरूलाई हारगुहार गर्दासमेत अक्सिजन ल्याउन नसकेको बताए । निजी अस्पतालको छाता सङ्गठन प्राइभेट अस्पताल एसोसिएसनका उपाध्यक्षसमेत रहेका थापाले अल्कालगायत अन्य निजी अस्पतालमा अक्सिजनका कारण थप सङ्क्रमित भर्ना गर्न सक्ने अवस्था नरहेको बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढ्यो
निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् ।
उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
कुलेखानीमा नयाँ आयोजनाको अध्ययन
नेपाल विद्युत् प्राधिकरणले बनाउन खोजेको कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएको छ । कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन गत चैतमा विद्युत् विकास विभागले अनुमति दिएको थियो ।
अहिले प्राधिकरण मातहतको एनईए इन्जिनियरिङले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययनमा संलग्न प्राधिकरणका इन्जिनियर शिवराम केसीका अनुसार हालसम्म भौगोलिक अध्ययन पूरा भएको छ भने भौगर्भिक, वातावरणीयलगायतका अध्ययनको काम भइरहेको छ । असार मसान्तभित्र पूर्वसम्भाव्यता अध्ययन सक्ने लक्ष्य प्राधिकरणको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजना सस्तो भएकाले तत्काल निर्माण गर्नुपर्ने बताए । उनले भने, “आगामी असारसम्म अध्ययनको काम सक्ने र अर्को वर्षको असारभित्र निर्माण सुरु गर्नुपर्छ भन्नेमा हामी छौँ ।” उनका अनुसार आयोजना सम्पन्न गर्न करिब नौ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
प्रारम्भिक अध्ययनबाट यो आयोजनाबाट सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । यो आयोजनाबाट सुक्खायाममा १०२ र वर्षायाममा ११८ गिगावाट गरी वार्षिक २२० गिगावाटरघण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । विद्युत्को माग उच्च हुने समयमा सञ्चालन गर्ने गरी यो आयोजना बनाउन लागिएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद्
संसद्को विशेष अधिवेशन अघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। स्वाब संकलन गरिएका मध्ये ११।९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएको छ।
वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो।
संक्रमितमध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। राष्ट्रिय सभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ।
संसद्स चिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ। संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्।
सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ। प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ।
कोरोना संक्रमणबाट संघीय संसद्स चिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भइसकेको छ। परीक्षण गरिएका मध्ये करिब १२ प्रतिशतमा संक्रमण पुष्टि भएपछि वैशाख २७ गतेका लागि बोलाइएको संसद्को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको संसद् बैठकमा संक्रमित सांदलाईसमेत उपस्थित गराउने तयारी सचिवालयले गरेको छ।
अधिवेशन अगाडि कार्यव्यवस्था परामर्श समितिको छलफलले संक्रमित सांसदको सहभागिताको विषय टुंगो लगाउने छ । संक्रमित सांसदर्ला छुट्टै कक्षमा राखेर मतदानमा सहभागी गराउने तयारी भए पनि यो निर्णय भइसकेको छैन ।
पोजेटिभ रिपोर्ट आएका २६ सांसद्
झलनाथ खनाल
मुकुन्द न्यौपाने
मायादेवी न्यौपाने
पार्वती डिसी चौधरी
राजेन्द्रप्रसाद गौतम
नन्दलाल रोका क्षेत्री
लालबाबु पण्डित
लक्ष्मणलाल कर्ण
नरमाया ढकाल
महेश बस्नेत
रामबाबु यादव
गोपालबहादुर बम
नमीता कुमारी चौधरी
शान्तिमाया तामाङ
विना कुमारी श्रेष्ठ
रेनुका गुरुङ
जुलीकुमारी महतो
रघुवीर महासेठ
किसान श्रेष्ठ
सुरेश कुमार राई
पुष्पा कुमारी कर्ण कायस्थ
भानुभक्त ढकाल
बीना मगर
भरतकुमार शाह
प्रमोद शाह
दिपकप्रकाश भट्ट अन्नपूर्ण पोस्टबाट।