logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, अल्पमतमा पर्ने संकेत


अंकुरण खबर
1.443K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिँदै छन् ।

आज (सोमवार) अपरान्ह १ बजे बस्ने संसदको विशेष अधिवेशनको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएपछि सरकार अल्पमतमा छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सकने संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल कायम रहेका २७१ सांसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

एमालेका असन्तुष्ट माधवकुमा नेपाल समूह तथा नेपाली कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्री ओलीको विपक्षमा उभिएकाले उहाँले विश्वासको मत प्राप्त गर्ने सम्भावना भने करिब करिब टरेको अवस्था देखिएको छ ।

यद्यपी, एमालेका सबै सांसदको मत प्राप्त भए जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले मत दिने सम्भावना पनि छ । सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट आवश्यक हुन्छ। तर एमालेकै नेपाल खनाल समूहका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरिसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ।

यो गणितलाई हेर्दा प्रधानमन्त्री अल्पमतमा पर्ने निश्चितप्रायस् देखिएको छ ।