प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट समूहका नेताहरुलाई समस्या समाधानका लागि छलफलमा आउन आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा केहीबेर अघि स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीले असन्तुष्ट नेताहरुलाई हतारमा कुनै निर्णय नगर्न आग्रह गर्दै छलफलमा बसेर समस्या समाधान गर्नपर्ने बताएका हुन् ।
यस्तो छ प्रधानमन्त्री ओलीको स्ट्याटस:
नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।
तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।