नेकपा एमालेका माधव पक्षीय नेता घनश्याम भुसालले असफल भएका शक्तिहरूले चुनावको नाममा पुनः संसद् विघटन गर्न कस्सिएको बताएका छन्।
कामचलाउ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै भुसालले बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन्।
‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ,’ उनले लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन।’
उनले आत्मसर्मपण क्रान्तिप्रतिको गद्दारी भएको आफूहरूलाई थाहा भएका पनि उल्लेख गरेका छन्।
‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर, आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ,’ उनले लेखेका छन्।