गण्डकी प्रदेशमा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार साँझ प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री गुरुङलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
संविधानको धारा १६८ (३) अनुसार गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख सीता पौडेलले गुरुङको बैशाख २६को राजीनामा पछि तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । समयसीमा सकिन लाग्दा पनि जनमोर्चाका तीन जना सांसदको हस्ताक्षर नपुगेपछि दलको समर्थनमा बहुमत दाबी गर्दै निवेदन पेश गरिएको थियो । अब गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
मुख्यमन्त्रीमा प्रस्ताव गरिएका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको दाबी गरेका थिए । आफूलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गरी ३१ सांसदको समर्थन रहेको दाबी गरे पनि जनमोर्चाका केही सांसद् तटस्थ बसेपछि नेपालीको मूख्यमन्त्री हुने बाटो बन्द भएको हो ।