नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
बहुमतको सरकारका लागि कुनै दलको दावी नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।आज दिउँसो साढे २ बजे हुने शीतलनिवासमा ओलीले पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत गुमाएर कामचलाउ भएका ओली तीन दिनमै फेरि प्रधानमन्त्री नियुक्त भएका हुन् ।
ओली प्रधानमन्त्री नियुक्त भएसंगै यस अघिका सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुलाई पनि आजै पद तथा गोपनीयताको शपथ खुवाइनी स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गर्ने जनाइएको छ । केही मन्त्रालयमा पुरानै मन्त्रीले जिम्मेवारी पाउँने तथा केहीमा नयाँ अनुहार आउँने छन् ।
तोकिएको अवधिमा काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली पुनः प्रधानमन्त्री बन्नेका हुन ।
प्रधानमन्त्रीमा नियुक्त भएसंगै ओलीले अब ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।