प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिने भएका छन् । ओलीले केही बेरपछि प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बन्ने प्रक्रियामा रहेकाले आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट मन्त्री बन्ने सम्भावना नरहेको बालुवाटार स्रोतले बतायो ।
जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बुझिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद्मा अधिकांश पुरानै अनुहार दोहोरिने सम्भावना रहेको स्रोतले बतायो । “प्रधानमन्त्रीले पुरानै समूह दोहोर्याउँछु भन्नुभएको छ । नयाँ पर्दैनन् होला,” एक नेताले भने ।
प्रधानमन्त्री ओलीले आजै दिउँसो २:३० बजे शपथग्रहणको तयारी गरेका छन् । उनले संविधानको धारा ७६(३)अन्तर्गत शपथ लिन लागेका हुन् ।