प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ गराएकी हुन् । ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विश्वास गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी थिइन् ।
तर, बिहीबार राति ९ बजेसम्मको समयसीमामा कसैले पनि प्रधानमन्त्री दाबी नगरेपछि राष्ट्रपतिले धारा ७६ (३) बमोजिम प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यसैबीच प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । पुराना सबै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।