logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवाहमा जाँदा कोभिड संक्रमित भई एकै परिवारका चार जनाको मृत्यु


अंकुरण खबर
1.287K
Shares

बागलुङमा अहिले कोभिड– १९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ ।

एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भीडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् ।

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो ।

वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका– ४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो । त्यसको केही दिनमै कोरोना सङ्क्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो ।

परिवारका अन्य सदस्य पनि सङ्क्रमित भएका छन् । थप सहभागीको पीसीआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा सङ्क्रमण पुष्टि भयो । यसले सङ्क्रमण बढाउने कारण विवाह रहेको पुष्टि समेत गर्दछ ।

अन्ततः कोरोनाकै कारण बडिगाडका एकै परिवारका चार जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट बाबाको मृत्यु भएको एक सातापछि दुई छोराको सङ्क्रमणकै कारण मृत्यु भएको हो ।

वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घटना भएको स्थानीय बताउँछन् ।

धौलागिरी अस्पतालमा उपचाररत बडिगाड– ४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भयो । मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार राति नै मृत्यु भएको छ । यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृत्यु भएको छ ।

अधिकांश सङ्क्रमित भीडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका काराण बडिगाड– ४ मा अत्यधिक मात्रामा सङ्क्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रिय थियो । यस क्रममै लापरबाही गरेको भन्दै विवाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका– ८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो ।

सात जनामात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो ।

त्यसपछि सिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकाले स्वाब सङ्कलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना देखिएको बागलुङ– ८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए ।

सिगानामा शनिबार आएको रिपोर्टअनुसार २६ जनाको परीक्षणमा १५ जनामा सङ्क्रमण फैलिएको छ । जिल्लामा सङ्क्रमणको दर तीव्ररूपमा फैलनुमा विवाह, भोजभतेर तथा पूजाआजा हो,ु जिसीले भने, सरकारले मात्रै गरेर हुँदैन, नागरिक सचेत नभएसम्म समस्या हुन्छ, राज्यको नियम उल्लङ्घन हुँदा समस्या हुन्छ ।

जिल्लाको ताराखोलामा समेत विवाह भोजकै कारण कोरोना बढी फैलिएको पाइएको छ । जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएर सङ्क्रमण तीव्र फैलिन थालेपछि आगामी जेठ १५ सम्म निषेधाज्ञा गरिएको छ । कोरोना बढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र गम्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउँछन् ।

कोरोना सङ्क्रमण फैलिँदो क्रममा छ, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिदिनुस् भनेर बारम्बार निर्देशन र अनुरोध गरिरह्यौँ तर नागरिकले बेवास्ता र लापरबाही गर्दै भीडभाड हुने कार्य गरेकैले अहिले डरलाग्दो अवस्था आएको छ, कार्कीले भने, अब जेठ १ गतेदेखि विवाह घरमै सीमित राख्न निर्देशन गरिएको छ, अटेरी गरेमा तुरुन्तै कारबाही गरिनेछ । रासस