सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृत रूपमा महामारीविरुद्ध लगाउने निर्णय गरेको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताललाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीले बताए । बैठकले देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने निर्णय गरेको छ । ती उद्योगलाई बिजुली महसुललगायतमा सहुलियत दिइने मन्त्री ज्ञवालीले बताए । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि बैठकले निर्णय गरेको छ ।
सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । प्रधानमन्त्रीले क्वीक रेस्पोन्स टिम बनाउन र हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्ने निर्देशन दिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।