logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझैपनि कम्युनिष्ट पार्टीको एकता आवश्यक छ : नारायणकाजी श्रेष्ठ


अंकुरण खबर
741
Shares

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन्।

सोमबार न्यूज एजेन्सी नेपाल सँग कुरा गर्दै श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताए।

विगतमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भएपनि देशी–विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको उनको आरोप छ।

पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नुपनि कमजोरी भएको श्रेष्ठले स्वीकार गरे। श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औंल्याए।

विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमीकमजोरी नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको टिप्पणी छ। यद्यपि, कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण गर्न आफूहरुले हिम्मत नहार्ने उनको भनाइ छ।

‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ। तर, हामी हिम्मत हार्दैनौँ। कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन’, उनले भने।’