प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुले लिएको सपथ ग्रहणको बदरको माग राख्दै परेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
सोमबार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु नवराज अधिकारी, राजकुमार सुवाल, लोकेन्द्र ओली र सन्तोष भण्डारीले गरि छुट्टाछुट्टै चारवटा रिट दर्ता गराएका थिए ।
रिट निवेदकहरुले प्रधानमन्त्री ओली लगायत मन्त्रीहरुले लिएको सपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै बदरको माग गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए ।
प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले पुनः दोहोर्याए पनि ओलीले यो पर्दैन भन्दै शपथग्रहण अगाडि बढाएका थिए । जसको कारण राष्ट्रपति जस्तो संस्थाको मानमर्दन भएको रिट निवेदकहरुको ठहर रहेको छ ।
साथै रिट निवेदकहरुले संघीय कानून बनाएर सपथ ग्रहणको ब्यहोरा तोक्न र त्यसबेला सम्मका लागि कामकारवाहीबाट रोक्न समेत आग्रह गरेका छन् ।