logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भूकम्पले घर भत्किँदा चार घाइते, दर्जन घरमा क्षति


अंकुरण खबर
1.378K
Shares

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् ।

घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए । घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए । घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो ।
त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पु¥याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ ।

उमासहित उनकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइते हुनबाट जोगिइन् ।

अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का पुगेको बताइएको छ ।