राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ।
भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ।
यी भारतीय अन्तर्राष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए। कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए।
नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पुर्याउन क्यानले १० उडान अनुमति दिएको छ। यसमा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्नेछन्।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीयका हकमा निगमद्वारा उपलब्ध गराइएको टिकटका आधारमा पाँच उडान साउदीको रियाद र दुई दमामका लागि निर्धारण गरेको छ।
निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ।
निगमले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाउँदै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ। रासस