logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा सशस्त्रको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु (अपडेट)


अंकुरण खबर
1.339K
Shares

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रंतापपुर गाउँपालिका-६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए । उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइए पनि बाटोमै उनको मृत्यु भएको प्रवक्ता लामाले जानकारी दिए ।

प्रहरीका अनुसार आज बुधवार बिहान केही युवाहरु भारततर्फ जान खोजेका थिए । निषेधाज्ञा भएका कारण सिमापारी जान नमिल्ने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई रोकेका थिए । सोही कारण युवा र सुरक्षाकर्मीबीच विवाद भएको बताइएको छ ।

विवादपछि युवाहरुले ड्युटीमै रहेका सशस्त्र प्रहरीलाई आक्रमण गरेकाले हवाई फायर गरेको प्रवक्ता लामाले जानकारी दिए ।