विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञा कार्यान्वयनको क्रममा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ८३९ जनालाई ‘होल्ड’मा राखी छाडिएको छ ।
सोही अवधिमा एक हजार ५२४ वटा गाडी र तीन हजार ९६६ वटा मोटरसाइकल गरी पाँच हजार ४९० वटा सवारी–साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोइ रु’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६९० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३६१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै, देशभर माइकिङ तथा सचेतनामूलक कार्यक्रमअन्तर्गत १३ हजार ९७४ जनालाई सचेत गराइएको छ ।