logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान सुरु,आजै नतिजा


अंकुरण खबर
1.144K
Shares

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि अहिले मतदान सुरु भएको छ ।

बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान सुरु गरेका छन् ।

गृहमन्त्री रामवहादुर थापासहित तीनैजना उम्मेदवार मतदानस्थलमा छन् । दिउँसो ३ बजेसम्म जारी रहने मतदानमा अन्य मतदाता पनि मतदानस्थलमा पुगेका छन् ।

मतदानमा गृहमन्त्रीसमेत रहेका एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भैरहेको छ।

मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोगले कुनै कसर बाकी नराख्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यस अघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ ।

मतदानमा विवेकशील साझा पार्टीले भने सहभागि नहुने जनाइसकेको छ ।

वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो । आयोेगका अनुसार उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।