logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात मन्त्रीको नियुक्ति बदरको माग गर्दै परेको रिट निवेदन प्रधानन्यायाधीशको इजलासमा, आज सुनुवाइ हुँदै


अंकुरण खबर
689
Shares

गैर सांसद सात जना मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएर पनि मन्त्री बनेका सात जनालाई पदमुक्त गर्न माग गर्दै परेको रिट निवेदनमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ हुन लागेको हो ।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका दुवै रिटको पेशी प्रधानन्यायाधीश राणाको एकल इजलासमा तोकिएको हो । संविधानको धारा ७८ बमोजिम नियुक्त भएका मन्त्रीको नियुक्ति गैर संवैधानिक भएको रिट निवेदकहरुले दाबी गरेका छन् ।

यसअघि पनि यी मन्त्रीको नियुक्ति गैरकानुनी भएको भन्दै रिट परेको भए पनि त्यसमा अन्तरिम आदेश माग नभएको भन्दै प्रधानन्यायाधीश राणाले पूर्ण सुनुवाइमा लैजाने आदेश दिएका थिए ।

संविधानको धारा ७८ अनुसार सङ्घीय संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिना मन्त्री हुन पाउने व्यवस्था छ । अहिले गृहमन्त्री रामबहादुर थापा,उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा,श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैमा सदस्य छैनन् ।