logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय यात्रुबाट बढी भाडा नलिएको हिमालय एयरलाइन्सको स्पष्टोक्ति


अंकुरण खबर
2.054K
Shares

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ ।

नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक अतिरिक्त रकम लिएको विभिन्न सञ्चारमाध्यममा आए पनि एयरलाइन्सले विज्ञप्ति निकालेर भारतीय यात्रुलाई बढी भाडा नलिएको स्पष्ट पारेको हो ।

नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान सरकारले नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०लाई सात र हिमालय एयरलाइन्सलाई तीन उडान गर्ने गरी अनुमति दिएको थियो ।

उक्त सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र हिमालय एयरलाइन्सलाई उल्लेख गरी केही अनलाइनलगायत मिडियामा आएको समाचारप्रति एयरलाइन्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हिमालयले साउदी अरेबिया उडान अनुमति पाएअनुसार एअरलाइन्स उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रिब्युशन सिस्टम)मार्फत यात्रीलाई अत्यन्त सहज होस् र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस् भनी अन्तर्राष्ट्यि हवाई उद्योग सङ्घ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्राभल एजेन्सीले टिकट बिक्री गर्न सकिने तथा यात्रीले आफूलाई अनुकूल हुने ट्राभल एजेन्सीसँग टिकट किन्न सकिने बन्दोबस्त गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।

विश्वव्यापी टिकट वितरण प्रणालीमार्फत सबै टिकट बिक्री भएको तथा भाडादर पनि उक्त प्रणालीको माध्यमबाट सबै एजेन्सीको पहुचमा भएको जनाउँदै एयरलाइन्सले यस प्रणालीका माध्यमबाट पारदर्शी र प्रतिस्पर्धीरूपमा यात्रीले सेवाको गुणस्तर तथा सेवा शुल्कको सवालमा लाभ प्राप्त गर्ने दाबी गरेको छ ।

उक्त उडानले एकतर्फी यात्री बोक्नुपर्ने अर्थात् फर्किँदा विमान खाली ल्याउनुपर्ने भएकाले ती उडानमा नियमित उडानभन्दा अनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहेको पनि एयरलाइन्सको ठहर छ ।

यदि कुनै एजेन्सीले कोही पनि यात्रीसँग अवान्छनीय ढङ्गले अत्यधिक शुल्क लिएको प्रमाण पेश हुन आएमा एयरलाइन्सले आवश्यक कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिश गर्ने प्रतिबद्धता पनि जनाएको छ ।