प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।
सर्वोच्च अदातलमा रिट निवेदन दर्ता गर्नु अघि विपक्षी गठबन्धनका आआफ्नै संसदीय दलका बैठकपनि सिंहदरबारमा बोलाइएका छन् ।
हिजो नयाँ वानेश्वरस्थित ससद भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले नै आज सर्वोच्च अदालत जाने निर्णय गरेको थियो । प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेका दलहरुले आज अदालतमा रिट दायर गर्न लागेका हुन् । यस्तै कानुन व्यवसायीहरुले पनि अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गरेकी थिइन् । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिएको थियो ।