logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्न चिकित्सकको सुझाव


अंकुरण खबर
1.781K
Shares

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्र रूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे ।

सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरे ।

सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।

पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिएका हुन् । जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनको सुझाव छ ।

प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन, छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सको सल्लाह छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको पाइएको छ ।