बागमती प्रदेश सभाको आठौं अधिवेशन जेठ १६ गते आइतबारका लागि बोलाइएको छ ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आइतबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।
जेठ १६ गते बजेट अधिवेशनको शुभकामना दिने तथा प्रदेश सभामा दर्ता भएको पर्यटन सम्बन्धी विधेयक बैठकमा पेश हुने प्रदेश सभा सचिव कृष्ण खड्काले जानकारी दिए ।
यस्तै, सातौं अधिवेशनमै पेश हुनुपर्ने लोकसेवा आयोगको प्रतिवेदन, मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन र समितिको प्रतिवेदनहरु पनि बजेट अधिवेशनमा पेश हुने बताए ।