logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपक्षी गठबन्धनद्वारा राष्ट्रपति र प्रधानमन्त्रीविरूद्ध आज सर्वोच्चमा रिट दायर गर्दै


अंकुरण खबर
741
Shares

विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज (सोमवार) रिट दायर गर्ने भएका छन् ।

गठबन्धनले आज १४९ मध्ये मुख्य नेताहरू भौतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेको हो ।

यसका लागि हिजो सबै सांसदहरूको हस्ताक्षर संकलन भइसकेको विपक्षी गठबन्धनका एक सदस्यको भनाइ छ ।

विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले सो सम्बन्धी निर्णय बदर गर्न माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता सुनील पोखरेलका अनुसार ‘प्रतिनिधिसभाले वैकल्पिक सरकार दिने अवस्था रहँदासम्म विघटन गर्ने अधिकार अल्पमतको प्रधानमन्त्रीलाई छैन । वैकल्पिक सरकार बनाउन प्रतिनिधिसभाका बहुमत सदस्यहरु तयार देखिएकोले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिनुपर्छ भन्ने निवेदनको दावी छ । ’

रिटले संविधानको धारा ७६ (५) अनुसार बहुमत सांसदहरुको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दावी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग समेत गरेको छ ।

यस्तै, रिटमा नेपालको संविधान र सर्वोच्च अदालतले विगतमा स्थापित गरेका नजीर र सिद्धान्त विपरीत प्रतिनिधिसभा विघटन र वैकल्पिक सरकार गठनमा अवरोध भएको दावी गरिएको छ ।

रिटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको खनाल-नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर गरेका छन्।

रिट दर्ता गर्न शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवसहितका नेताहरु आफैं अदालतमा उपस्थित हुने बताइएको छ ।