logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, तरकारी पसल पनि बन्द हुने


अंकुरण खबर
728
Shares

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ ।

कोरोना संक्रमणमा केही कमी देखिएपनि स्थिति भयावह नै भएकाले उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको हो । उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म कायमै छ ।

एक साता निषेधाज्ञा थपेर थप कडाइ गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार निषेधाज्ञा थपेर थप कडाइ गर्नुको यतिबेला अर्को विकल्प देखिएको छैन ।

तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड भइरहेकाले कोरोना संक्रमण पनि त्यहीँबाट फैलिने डर देखिएको बताउँदै पराजुली भने, ‘त्यसलाई कसरी व्यवस्थित गर्न तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ ।’

त्यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूलाई पनि कसरी व्यवस्थित गर्ने भनी गृह मन्त्रालयमा छलफल हुन लागेको काठमाडौं प्रशासनले जनाएको छ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरिसकेकाले अध्यादेशअनुसार नै संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गर्न कुनै वाधा पुग्दैन ।