महान्यायाधिवक्ताको कार्यालयले संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश आएको बताएको छ ।
आज पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता कार्यालयले यस्तो बताएको हो। ‘अनर्गल र नभएको कुराहरू बाहिर आइरहेको छ। संविधानमा भएको व्यवस्थाअनुसार नै आएको हो,’ नायव महान्यायाधिवक्ता पद्मराज पाण्डेयले भने,‘राजनीतिक स्वार्थ वा चर्चा बटुल्न कतिपय मानिसहरूले बंग्याएर व्याख्या गरेको देखिएको छ।’
संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि मात्रै अध्यादेश ल्याइएको प्रवक्ता सह-न्यायाधिवक्ता सञ्जीव रेग्मीले बताए।
‘जसरी बाहिर सार्वजनिक टिप्पणी भएको छ, त्यसले महान्यायाधिवक्ता कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘बिलकुलै नयाँ कुरा अध्यादेशमा छैन। संविधानबमोजिम नै अध्यादेशमा विषय उठाइएको छ।’