सरकारले आगामी चार हप्तापछि नेपालमा कोरोना भाइरसको संक्रमण घट्ने आँकलन गरेको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्रालयले यस्तो आकलन गरेको हो । पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले कोभिड- १९ विरुद्धको खोप खरिदका लागि सरकारले अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताए । उनले भने ‘अमेरिका, बेलायत, रुस, भारत र चीनसँग खोप ल्याउने विषयमा उच्चस्तरिय पहल भैरहेको छ । निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा आएको छैन् ।’
मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसको रोकथामका लागि स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा सरकार सकारात्मक रहेको बताए ।
नेपाल प्रवेश गर्ने १४ वटा मुख्य नाकामा एन्टीजेन परीक्षण र स्क्रिन टेस्ट गर्ने हेल्थ डेस्क स्थापना गरिएकाले पनि कोभिड केही कम हुने मन्त्री बताए ।
सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको छ।
अहिले बी १.६१७.२ भेरियन्ट धेरै फैलिएकाले थप सावधानी अप्नाउन मन्त्रालयले अपिल गरेको छ । त्यस्तै पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको मन्त्रादलयले जनाएको छ ।