नेकपा एमालेबाट निस्काशित वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीका कारण एमाले विभाजनको अबस्थामा पुगेको बताएका छन् ।
मंगलबार फेसबुकमार्फत एक अपील जारी गर्दै नेता नेपालले अध्यक्ष ओलीले आफू लगायतको नेताहरुलाई कारबाही गरेर एमाले विभाजन गर्ने काम फत्ते गरेको उल्लेख गरेका हुन् । उनले अब कारबाहीको कुनै अर्थ नहरहेको स्पष्ट पारेका छन् ।
‘कमरेड जेएन खनाल, म, क मुकुन्द न्यौपाने, क भीम रावलसहित ११ जना माथि कारबाही भन्दै पार्टी सदस्यबाटसमेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहिन, अनाधिकारिक र अर्थहिन रहेको कुरा स्पष्ट पार्दछु,’ नेता नेपालले जारी गरेको अपिलमा भनिएको छ ।
नेता नेपालले केपी ओली नेतृत्वको सरकारलाई हटाउनु नै अबको पहिलो काम भएकोले अब कानूनी र राजनीतिक तथा सडक आन्दोलन गर्ने चेतावनी दिए । कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आफूहरुमाथि आइपरेको नेता नेपालको भनाइ छ ।