सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि बोलाएका पूर्वसभामुखहरूले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको राय दिएका छन् ।
मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सभामुख सापकोटाले तीन पूर्व सभामुखहरुसँग भौतिक र एक जनासँग भर्चुअल माध्ययमबाट छलफल गरेका हुन् ।
सभामुख सापकोटाको निमन्त्रणामा पूर्वसभामुखद्वय रामचन्द्र पौडेल, ओनसरी घर्ती मगर र कृष्णबहादुर महरा प्रत्यक्ष उपस्थित भएका थिए । पूर्वसभामुख दमननाथ ढुंगाना भर्चुअल माध्यमबाट छलफलमा सहभागी भएका थिए भने पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ छलफलमा सहभागी भएनन् ।
जनताको अस्तित्वमाथि कसैले खेलबाड गर्नु हुँदैन भन्ने सुझाव दिइएको पूर्वसभामुख पौडेलले बताए । व्यवस्थाको रक्षाका लागि सभामुखको सक्रिय भूमिकाका लागि पूर्वसभामुखहरूले सुझाव दिएका छन् । ‘छिटोभन्दा छिटो अर्थात् असार मसान्तभित्रै सदन पुनःस्थापना भएर आएर सदनबाटै बजेट पारित हुने अवस्था सिर्जना हुनुपर्ने राय दियौँ,’ पौडेलले भने ।
पूर्वसभामुखहरूले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भएको र त्यो असंवैधानिक रहेको राय दिएका छन् ।