कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ ।
दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ ।
तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र विरामीको मृत्युदर घटेको हो ।
वितेको दुई दिनको अवधिमा बाँकेका सङ्क्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिन यता सङ्क्रमित हुने भन्दा जित्नेको सङ्ख्या बढ्दै गएको छ ।
कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा सङ्क्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने विरामीको सङ्ख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताए।
उनले कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आउँदैमा कुनैपनि लापर्वाही गर्न भने नहुने बताए । एक महिनादेखि जारी निषेधाज्ञाले कोरोना सङ्क्रमणको चक्र तोड्न सफल भएकोले घट्दो सङ्क्रमणदरलाई शून्यमा झार्न अझै सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने डा. थापाको भनाइ छ ।