नेकपा एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।
बुधवार बसेको बैठकले सुदुर पश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । बैठकमा माधव नेपाल पक्षका १९ जना नै उपस्थित थिए भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तीन जना सांसद सहभागी थिए । कोरोना संकटको अवस्था भएकाले यस्तो अवस्था अन्य राजनीतिक गतिविधिमा नलाग्ने भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता नलिने निर्णय भएको हो ।
यसअघि सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता गर्न निर्देशन दिएको थियो । तर, प्रदेशको बैठकले सरकारलाई दिएको निरन्तरता दिने निर्णय गरेको प्रदेश सभा सदस्य अमरबहादुर साउदले जानकारी दिए । सुदूरपश्चिम प्रदेशसभामा एमालेको खनाल–नेपाल समूह बलियो छ ।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका छन् ।