logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा निषेधाज्ञा थप कडाई : के गर्न पाइन्छ, के पाइदैन् ?


अंकुरण खबर
1.04K
Shares

कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथामको लागि भन्दै आजबाट एक हप्ता लम्ब्याइएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप कडाई गरिएको छ ।

मंगलबार उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि लागू हुनेगरी निषेधाज्ञा पहिलेको भन्दा कडा बनाउँने निर्णय गरेको हो । अहिलेको निषेधाज्ञामा किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स बन्द गरिएको छ भने, मर्निङ र इभिनिङ वाक पनि बन्द गरिएको छ ।

यद्यपी यस पटकको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री तरकारी, दूध, डेरी, मासु, खानेपानी र ग्यास पसल भने बिहान १० बजेसम्म खोल्न पाइने छ । त्यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । त्यस्तै इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी पास लिएर मात्र सञ्चालन गर्न पाइने छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा ब्यानर राखेर राति ९ देखि बिहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ ।

सरकारी कार्यालय, संस्थान, बैंक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारी साधान बिहान ९ः३० देखि १०ः३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुई वटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । बैंकका गाडी जम्मा दुईवटा मात्रै सञ्चालन गर्न पाइने छ । सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ । अन्तर्राष्ट्रिय उडानबाट विदेश जानेले टिकट, पासपोर्ट देखाएर सिधै विमानस्थल जान पाउँने छन् ।

विवाह, व्रतबन्ध गर्दा सात जनाभन्दा बढी उपस्थित हुन पाइने छैन् । नित्य पूजाबाहेकका सबै धार्मिक गतिविधि बन्ध गरिएको छ ।

निषेधाज्ञा जेठ २० गते राति १२ बजेसम्म लागु हुने छ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।