बंगालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात यासको प्रभावले नेपालमा पनि वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १‚ प्रदेश २‚ बाग्मती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, उच्च वेगको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा प्रदेश १‚ बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर चक्रवात यास पश्चिम उत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ।
यस्तै‚ देशभर मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थान‚ प्रदेश १‚ बागमती र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको छ।
उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश १‚ बागमती र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।