नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु कुटिएका छन् ।
गुन्डाहरुले अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण गरेका हुन् । उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका भाइले कुटेको पीडित चिकित्सकहरुले आरोप लगाएका छन् ।
सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय उपचाररत संक्रमितको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन नसक्दा उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि उनका भाइ एवं दाङका एमाले नेता मानबहादुर रावतले गुन्डाहरु बोलाएर अस्पतालमा डाक्टर तथा नर्सहरुलाई लखेटी लखेटी आक्रमण गर्न लगाए ।
गुन्डाहरुले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सकले झ्यालबाट हाम्फालेर ज्यान बचाएका थिए । उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको बताइएको छ ।
रावतले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम लिएर चिकित्सकहरुलाई तर्साएका थिए । दाइको उपचारका क्रममा मृत्यु भएपछि रावतले त्यही रिसमा आफ्नो नैतिकतासमेत भुलेर एक्कासी गुन्डाधारी रुप धारण गरेको बताइएको छ ।