प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आज (आइवार) पनि हुने भएको छ।
शुक्रबारदेखि संवैधानिक इजलासमा शुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा आजका लागि राखिएको हो।
शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरु भएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीसहित डाक्टर आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेर इजलास बनाएका थिए।
मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको संवैधानिक इजलाशमा नै प्रश्न उठेको छ। सुनुवाइकै क्रममा इजलाशमसथि कानून व्यवसायीले प्रश्न उठाएका हुन्। इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठेको छ।
इजलास गठनमा बाहिर वरिष्ठताको विषयमा केही चर्चा चलेपनि इजलासभित्र न्यायाधीश बमकुमार श्रेष्ठका विषयमा कानून व्यवसायीले प्रश्न उठाए, खासगरी पुरानो फैसलाका कारण न्यायाधीश श्रेष्ठ विवादमा तानिए । श्रेष्ठ त्यही न्यायाधीश हुन्, जसले २०७७ साल फागुन २३ गते अर्का न्यायाधीश कुमार रेग्मीसँग मिलेर तत्कालीन नेकपाको एकता भंग हुने तथा एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किने फैसला गरेका थिए ।
शुक्रबार सुनुवाइका क्रममा कानूनविद गोविन्द बन्दीले श्रेष्ठमाथि प्रश्न उठाए। इजलासबाट हट्नु शोभनीय हुने जिकिर गर्दै बन्दीले भने, ‘न्यायाधीश बमकुमार श्रेष्ठको हकमा प्रश्न उठेको छ। उनको फैसलाले नेकपा दुई टुक्रा पारेको हो। त्यही प्रसंगबाट आएको यो विघटनमा उहाँ बेन्चमा छन्। उनको निष्पक्षतामाथि शंका छ।’
बन्दीको यस्तो भनाइपछि प्रधानन्यायाधीश जबराले ‘न्यायालयको निष्पक्षता तपाईंहरूले मात्रै जोगाउने हो भन्दै उनले न्यायाधीश र इजलासलाई विश्वास गर्नुस्,’ भनेर आग्रह गरे। तर कानूनविद बन्दीले सवाल जवाफ जारी राखेपछि प्रधानन्यायाधीश जबराले इजलास टुंगाउँदै आइतबारसम्मका लागि सुनुवाई स्थगित भएको जानकारी दिए।