प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताएका छन् ।
तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे ओलीले आफ्नै पार्टीभित्रैबाट देशका लागि निकै ठूलो अनिष्टको काम भैरहेको आरोप लगाएका हुन् ।
नेतृत्व तहबाटै देशको विरुद्ध ठूलो अनिष्टको काम गरिरहेको बताउदै ओलीले यो चिन्ताको विषय बनेको टिप्पणी गरे ।
राजनीतिक दल र तिनका नेताहरु अनशासनहीन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको उनको आरोप थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने तर विपक्षीसँग मिलेर अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको जिकिर गरे ।