काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० पछि भने खुकुलो पारिने भएको छ ।
पछिल्लो पटक जेठ १४ गतेदेखि लागु हुने गरी थपिएको निषेधाज्ञा निकै कडा पारिएको थियो।
कोरोना संक्रमण दर क्रमशः घट्दै गएको हुँदा सर्वसाधारणको सहजताका लागि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए।
‘अहिले तरकारी, दुध, मासु, ग्याँस र पानीका लागि मात्र निषेधाज्ञा खुकुलो बनाएका छौँ तर २० गतेपछि खाद्यान्न पसलका साथै अन्य केही क्षेत्र पनि खुकुलो बनाउने तयारीमा छौँ,’ प्रजिअ पराजुलीले भने, ‘खाद्यान्न पसलहरूलाई निश्चित समयावधि तोकेर खोल्न दिइनेछ।’
यस्तै खाद्यान्नबाहेक अन्य कुन–कुन क्षेत्र खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले जानकारी दिए। सम्भवतः १९ गतेभित्रै काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको उपस्थितिमा बैठक बसेर निष्कर्ष निकाल्ने उनले बताए।
स्थिति अनुकुल हुँदै गए सबै क्षेत्रलाई बिस्तारै खुकुलो बनाउँदै लाने उनले बताए।