logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मानव अधिकारको अवस्था जोखिममा पर्न थालेकोमा आयोगको गम्भीर ध्यानाकर्षण


अंकुरण खबर
702
Shares

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरहरुको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कोभिड–१९ बाट उत्पन्न भएको हालको संकटको परिस्थितिमा आम नागरिकहरुको स्वास्थ्य उपचारसहितका विभिन्न अधिकारको अवस्था जोखिममा पर्न गएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले सोमबार विज्ञप्ति निकालेर संकटको यो बेला नागरिकको अधिकार हनन सम्बन्धमा केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु मार्फत निरन्तर अनुगमन भइरहेको पनि जनाएको छ।

अनुगमनका क्रममा आइसीयु र भेन्टिलेटरमा उपचार नपाएर मानिसको मृत्यु भएको तथा निषेधाज्ञा उल्लंघनका नाममा प्रहरीले निर्घात कुटपिट गरेको पाइएको उल्लेख गरेको छ।

यस्तै स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालको उपकरण तोडफोड भएको, कास्की, मोरङ, झापालगायतका जिल्लामा अक्सिजन, आइसीयु तथा भेन्टिलेटरको अभावमा मानिसको मृत्यु भएको अनुगमनको क्रममा पाइएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रदेश १ का पहाडी जिल्लामा पीसीआर परीक्षण हुन नसकेको, खाद्यान्न तथा औषधिको आपूर्तिमा कमि हुँदा अभाव देखिन थालेको, केही जिल्लामा निषेधाज्ञाका बेला पसल खोल्दा प्रहरीबाट निर्घात कुटपिट भएको जनगुनासो आएको अयोगले जनाएको छ।

आयोगले नागरिकमाथि दुर्व्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोवल उच्च राख्न र न्यून आर्जन भएका श्रमिक तथा ज्यालमजदुरी गरि जीवनयापन गर्नेहरुको पहिचान गरि उनीहरुका लागि आवश्यक व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ।