एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशनविपरीत सरकारमा गएको भन्दै ६ मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।
प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका तीनजना मन्त्री, तीन राज्यमन्त्री, प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीको कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । उनीहरूमाथि २४ घन्टे स्पष्टीकरण सोधिएको थियो ।
कारबाहीका लागि सिफरिस गरिनेमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज छन्।
उनीहरू तीन जनाले जबाफ नफर्काएको र तीनजनाको जबाफ चित्तबुझ्दो नभएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको जनाइएको छ । शाह, भट्ट र सुवेदीले स्पष्टीकरण पेस गरे पनि चित्त बुझ्दो नरहेको बताइएको छ । उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरिएको जनाइएको छ।
प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलार्ई पनि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न यसअघि नै सिफारिस गरिसकिएको छ।