शिक्षा मन्त्रालयले एसईई गत वर्षमा झैं आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ।
आज (सोमबार) बसेको मन्त्रालयको बैठकले गत वर्षकै विधिअनुरूप एसईई गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो।
गत वर्ष मूल्यांकन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले (एसईई) कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो। तदनुसार प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो।
कार्यविधिकै आधारमा पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो।
मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोकेअनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय एकाइमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो। त्यसैका आधारमा बोर्डले परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गरेको थियो।