भोलिदेखि खुल्ने भनिएको अन्तर्राष्ट्रिय हवाइ उडान अनिश्चित बनेको छ ।
एक साताअघि नै मन्त्रिपरिषद्बाट १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलाउने निर्णय भए पनि कार्यान्वयन भने अनिश्चित बनेको हो ।
सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म नपुगेको बताइएको छ । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद् बैठकबाट चीन, कतार र टर्कीमा नियमित उडान खुल्ने निर्णय भएको सार्वजनिक गरेका थिए ।
तर मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले यो निर्णय कार्यान्वयनमा आउन अझै एक साता लाग्ने जानकारी दिए । नियमित उडान खोल्ने निर्णय भए पनि उडान व्यवस्थापनसम्बन्धी तयारीका काम परा नभएका कारण तत्काल उडान नहुने उनले बताए ।
अधिकारीका अनुसार क्वारेन्टिन व्यवस्थापन, वायुसेवा कम्पनीलाई दिने उडान अनुमति संख्या लगायत विषयको टुंगो अझै लागेको छैन ।